काठमाडौँ, साउन १
महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा अमृत चरण श्रेष्ठ नियुक्त भएका छन् । संस्थाका अनुसार श्रेष्ठलाई प्राइम कमर्सियल बैंकको प्रतिनिधिको रूपमा अध्यक्ष नियुक्त गरेको हो । यसअघि उक्त संस्थाको अध्यक्ष पदमा भाइराजा तुुलधार रहेका थिए । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४६ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३७ करोड ९८ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४४ करोड ६० लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड १९ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६७ लाख १० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २६ करोड ६४ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १३ करोड ३३ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ७१ लाख १७ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई प्रतिशत रहेको थियो ।