काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महिलाले लगाउने स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको अनुसन्धान गर्दा खुलेको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली र काभ्रेको तेमाल गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुबईको उडान मार्फत एक महिला पुस १४ गते आइतबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पछि ती महिलाले दुबईबाट सुन ल्याएको र उक्त सुन लुटिएको सूचना प्रहरीले जानकारी पायो ।
अपराध अनुसन्धान कार्यालयको टोलीले सुन लुटिएको थाहा पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीसँग मिलेर अनुसन्धान अघि बढाएको थियो । सो क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । एक अनुसन्धान अधिकृतले उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले लगाएको प्याडमा सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर लुकाएर ल्याएको अनुसन्धानका क्रममा खुलेसा भएको बताए ।
अवैध रूपमा सुन ल्याएको सूचना पाएपछि बल्ल सुन लुटिएको खुलेको छ । लुटेराहरूबाट प्रहरीले लुटिएको ४३६.१० ग्राम सुनसहित ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अघि बढाइएको जानकारी गराएका छन् ।