काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत २१ दशमलव ४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले यही पुस १० गते २०७५ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४ दशमलव ७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ दशमलव २३ प्रतिशत रकम सो कम्पनीका प्रवद्र्वक/संस्थापकहरूको लगानी रहने छ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरूमध्ये सह–अगुवा ग्लोबल आइएमई बैंकको छ अर्ब तथा प्रभु बैंकको तीन अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब पाँच सय ८३ दशमलव शून्य तीन गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रूपमा रहने विश्वास लिइएको छ ।