काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना संस्थागत एसोसिएसनसँग बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ । नाडाले गत शुक्रबार हेटौँडामा हेटौँडा अटोमोबाइल्स एसोसिएसन र नाडा संस्थागत एसोसिएसनका पदाधिकारी तथा सदस्यबीच बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा उपस्थित सदस्यहरूले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरूका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरू राखेका थिए । सहभागीहरूले खासगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपी, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोबाइल वस्तुहरू, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा बिनाप्यान नम्बर सञ्चालन तीन हजार पसलहरूको कारण अन्य व्यवसायीहरूलाई परिरहेको नकारात्मक असरका बारेमा छलफल गरेका थिए । यस्तै, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखासम्बन्धी समस्याहरू, सदस्यहरूको हितका लागि भलाइ कोषको व्यवस्था, व्यवसायमा चेक बाउन्सको व्यावहारिक समस्या, अटोमोबाइल व्यवसायीहरू इन्स्योरेन्समा आबद्ध नहुदाको समस्या र नाडाका प्रदेश एसोसिएसनहरूलाई साधारणसभा सम्पन्न गर्नका लागि नाडाले आर्थिक स्रोतको व्यवस्था गरिदिनुपर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए भने नाडाका केन्द्रीय सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरूलाई कर, भन्सार र भिसिटियससम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकाससम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए ।
त्यसअघि हेटौडामा नाडा इन्टर प्रोभिन्स लेभल फ्रेन्डली ब्याटमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कुल आठ टिमबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोबाइल्स एसोसिएसनका पूर्वअध्यक्ष अमृत जोशी र कार्यसमिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो । यी कार्यक्रमहरू शनिबार हेटौँडामा सम्पन्न हेटौँडा अटोमोबाइल्स एसोसिएसनको २४ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आयोजना गरिएका थिए । यस किसिमका कार्यक्रहरूले नाडा र नाडाका संस्थागत एसोसिएसनबीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हँुदै जाने विश्वास नाडाले लिएको छ ।