काठमाडौँ, साउन १
सानिमा बैंक लिमिटेडको अगुवाइमा सीजी सिमेन्टमा कर्जा लगानी भएको छ । सानिमाका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहअगुवाइ एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकसमेतको सहभागितामा सीजीसिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिको क्लिङ्कर प्लान्टमा कर्जा लगानी गरिएको हो ।
बैंकका अनुसार १९५० टीपीडीबाट २९५० टीपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा दुुई अर्ब ३७ करोड ८० लाख गरी कुल नौ अर्ब छ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरूबीच २०७४ पुस सात गते सहवित्तीयकरण सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम मंगलबार पुरक सहवित्तीयकरण सम्झौता भएको बैंकले जानकारी दिएको छ ।
सम्झौता समारोहमा अगुवा बैंकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सहअगुवा बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाइले सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।