काठमाडौँ । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार, दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा परिसंघले शुक्रबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकताबमोजिम कृषि, पर्यटन, जलविद्युत्, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामीण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरूको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने सन्देश व्यक्त गरे । आर्थिक एवं बैंकिङ गतिविधिहरूको विस्तारका लागि बाधक बनेका मौजुदा कानुनहरूको सुधारका लागि सरकार लागि परेको बताउँदै अब तथ्यांकमा भन्दा व्यावहारिकता र परिणामलाई मध्यनजर गरेर सरकार र समग्र निजी क्षेत्र हातेमालो गर्दै अगाडि जानुको विकल्प नभएको उनले बताए ।
त्यसैगरी विशिष्ट अतिथिहरू उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका कावा अध्यक्ष वीरेन्द्र प्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शुभकामना मन्तव्य राख्दै उपयुक्त नीति र वातावरणको सिर्जना, कर्जा÷लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहु्ँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधिहरूलाई चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारणसभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्नेमा आशावादी रहेको बताए ।
उद्घाटन समारोहमा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताए । आज हामी सिमेन्ट, ऊर्जा, डण्डी र उपभोगका विविध क्षेत्रमा आत्मनिर्भर बन्दै गरेको बताउँदै यसो हुनुमा बैंकिङ क्षेत्रको भूमिकालाई बिर्सनु नहुने उनको धारणा रहेको थियो । बैंकिङ क्षेत्रले गरेका महत्वपूर्ण योगदानहरूको कदरसहित यस क्षेत्रलाई कहिकतैबाट प्रोत्साहन र हौसला नमिलेको धारणा व्यक्त गर्दै अध्यक्ष पौडेलले उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी भएन भन्ने गुनासोलाई बैंक तथा वित्तीय संस्थाहरूले गहिरोरूपमा चिन्तनमनन् गरिरहेको समेत बताए । बैंकिङ क्षेत्रको अग्रणी संस्था सिबिफिन र आबद्ध बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको वर्तमान अवस्था, आवश्यकता र आम अपेक्षालाई हृदयंगम गर्दै जिम्मेवार एवं रूपान्तरणकारी बैंकिङ भूमिका निर्वाह गर्दै आएको बताए । प्रचुर सम्भावना बोकेका कृषि, पर्यटन, जलविद्युत्, वनपैदावार, प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि सरकारले उचित वातावरण र नीति तय गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले मुलुकलाई विशाल अर्थतन्त्र र बजार भएका दुई ठूला छिमेकी मित्र राष्ट्रहरूबीचको साँघु बनाई भूराजनीतिक लाभ हासिल गर्न सकिने प्रचुर सम्भावनालाई सार्थकतामा परिणत गर्न आवश्यक रहेको समेत बताए । दिगो बैंकिङको विकासमार्फत वस्तु तथा सेवाको उत्पादन, उपयोग तथा निर्यात, रोजगारी सिर्जना, प्रविधि तथा नवप्रवर्तनको विकास, लघु, घरेलु साना तथा मझौला उद्यमहरूको विकास एवं विस्तारसहित खाद्य एवं ऊर्जा सुरक्षा तथा खाद्य सम्प्रभुता हासिल गर्दै वास्तविक अर्थतन्त्रलाई अझ सुदृढ एवं दर्बिलो बनाउनु हामी सबैको कर्तव्य र जिम्मेवार भएको बताउँदै उनले समग्र मुलुकको रुपान्तरणका लागि सिबिफिनले नेपाल सरकार, नियामक निकाय र सरोकारवाला पक्षहरूसँग सदैव निकट सहयोगी एवं परिपूरक संस्थाकोरूपमा भूमिका निर्वाह गर्न हरदम तत्पर रहने धारणा राखे ।
उद्घाटन समारोहमा सिबिफिनसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा रमेश पौडेल नेपाली बैंक तथा वित्तीय संस्थासम्बन्धी अनुसन्धानमूलक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । दक्षिण एसियाली मुलुकका बैंकिङ क्षेत्रको तुलनात्मक अध्ययन गरिएको उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका कार्यकारी प्रमुख गुरु प्रसाद पौडेललाई हस्तान्तरण समेत गरिएको थियो । त्यसैगरी उक्त चुनावी साधारणसभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ । सिबिफिनको विधानानुसार वाणिज्य बैंकको तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सात सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र दुई सदस्यसहित चार जना र फाइनान्स कम्पनीको तर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित तीन जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित पदाधिकारीहरूमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल अध्यक्ष, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव, गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष र कार्यकारी सदस्यहरूमा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी, एभरेस्ट बैंकका अध्यक्ष डा बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मीप्रसाद महर्जन निर्वाचित भएका छन् ।
ठमेलस्थित अलफ्ट होटलमा सम्पन्न उक्त साधारणसभामा विभिन्न विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, प्रतिष्ठित अर्थशास्त्री, बैंकिङविद्, प्रमुख व्यावसायिक संस्थाका नेतृत्वगण तथा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सञ्चालक प्रतिनिधि, आर्थिक मिडिया तथा पत्रकारका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित विभिन्न सञ्चारसंस्थाका वरिष्ठ सञ्चारकर्मीहरूको सघन उपस्थिति रहेको थियो ।