काठमाडौं । राष्ट्रिय अर्थतन्त्र र सेयरबजारमा गहिरो सम्बन्ध रहेको हुन्छ । अर्थतन्त्र प्रभावकारी हुँदै गएको अवस्थामा सेयरबजार पनि सकारात्मक हुने गर्छ भने अर्थतन्त्र शिथिल भएको अवस्थामा स्वभावैले सेयरबजार पनि कमजोर हुँदै गएको हुन्छ । यसलाई स्वाभाविक प्रक्रिया मान्न सकिन्छ । तर कहिलेकाहीँ सेयरबजारमा बिचौलिया एवं अन्य अप्राकृतिक कारणले गर्दा फरक अवस्था पनि आउन सक्ने हुन्छ । तर, अप्राकृतिकरूपमा सञ्चालन भएको सेयरबजार लामो समयसम्म जान सक्दैन र पछि बजारले आफैँ बाटो लिने हुन्छ ।
अहिले नेपालको सेयरबजार ओरालो लाग्दै गएको छ । अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आन्तरिक सूचकहरूमा सुधार हुन सकेको छैन । अहिले विदेशी मुद्रा सञ्चिति २२ खर्बभन्दा बढी पुगेको छ । करिब १८ महिनाको आयात तथा सेवा धान्न सक्ने देखिन्छ । यसमा ठूलो रकम भने विप्रेषणबाट प्राप्त भएको छ । यति धेरै विदेशी मुद्रा सञ्चिति भएको कारणले देशको अर्थतन्त्र सुदृढ छ भन्न सकिँदैन । किनभने यो रकमलाई उपयुक्त किसिमले प्रयोग गर्न सकिएको छैन । पैसा थुपारेर राख्ने र लगानी गर्न नसक्ने हो भने अतिरिक्त आय प्राप्त हुँदैन । यस्तो अवस्थामा अर्थतन्त्रले गतिलिन सक्दैन र अन्य आर्थिक क्षेत्रहरू पनि निष्कृय हुन पुग्छन् ।
वर्तमान अवस्थामा शोधनान्तर स्थिति अनुकूल देखिन्छ भने आयात निर्यात दुवै पक्ष बढेको अवस्था छ । यो अवस्था आउनुमा स्वचालित अर्थतन्त्रले ल्याएको होइन । किनभने सरकारले कसिलो आयात नीति लिएको कारणले हुन गएको हो । सरकारलाई पैसाको आवश्यक भयो भने खुकुलो आयात नीति र आवश्यक नभएको अवस्थामा लचिलो नीति लागू गरिएको हुनाले यसको प्रत्यक्ष असर अन्य आर्थिक क्षेत्रमा परेको हुन्छ ।
नेपालजस्तो अल्पविकसित देशमा अधिकांश आर्थिक सूचकहरू कमजोर नै हुन्छन् । अहिले आर्थिक संरचनामा ठुलो योगदान पुर्याउने निजी क्षेत्रको स्थिति शिथिल हुँदै गएको कारणले सेयरबजारले गतिलिन नसकेको अवस्था हो । उद्योगी तथा व्यवसायीहरूले पूर्ण क्षमतामा आफ्नो व्यवसाय सञ्चालन गर्न नसकेर ३०÷४० प्रतिशत मात्र उत्पादन गर्न सकेका छन् । यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा धक्का पर्न गएको छ भने अर्कोतर्फ सेयरबजारमा हुने लगानीमा पनि संकुचन आएको छ ।
केही समयदेखि सेयर बजारले बाटो पहिल्याउन सकेको छैन । सरकार उथलपुथलको हल्ला, धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिजस्ता विषयले सेयरबजारमा प्रभाव त पारेकै हुन्छन् । यद्यपि बैंक तथा वित्तीय क्षेत्रमा भएको करिब सात खर्बको कर्जायोग्य तरलता, घट्दै गएको बैंक व्याजदरजस्ता विषयले लगानी बढ्नु पर्ने हो तर, पनि उद्योगीहरू कर्जा लिन चालिरहेका छैनन् । १६÷१७ प्रतिशतको हाराहारीमा पुगेको व्याजदर अहिले एकल विन्दुमा झरेको अवस्थामा पनि कर्जा प्रवाह हुन सकेको छैन । यसको मूल कारण भनेको बजारमा माग नै सिर्जना नभएकोले हो । माग घटेको अवस्थामा जतिसुकै न्यून व्याजदर भए पनि उद्योगी व्यवसायीहरूले कर्जा लिन चाहेका हुँदैनन् । किनभने त्यसबाट लाभ लिन सक्ने अवस्था हुँदैन । त्यसकारण कर्जा लिन सक्ने कुरै हुँदैन । यो एक प्रकारको मन्दीको अवस्था हो ।
अहिले सेयरबजार करेक्सनभन्दा पनि खस्किँदै गएको अवस्था छ । यसमा मूलतः राजनीतिक अस्थिरता नै हो । सरकार बन्ने र ढल्ने हल्लाको कारणले गर्दा सत्तामा रहेका दलले पनि दीर्घकालीन आर्थिक नीति जारी गर्न सकेका छैनन् । स्थायी नीति नहुँदा बाह्य लगानी पनि आएको अवस्था छैन भने स्वदेशभित्र पनि लगानी गर्न लगानीकर्ता उत्सुक देखिँदैनन् । यस अवस्थामा सेयरबजारमा असर परेकै हुन्छ र लगानीकर्ता अलमलमा परेका हुनाले सेयरबजार फस्टाउन नसकेको अवस्था हो ।
जबसम्म सेयरबजारका लगानीकर्ता ढुक्क हुँदैनन् तबसम्म लगानी हुन सक्दैन । अहिले सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरे पनि प्रतिवेदन आइनसकेको हुनाले लगानीकर्ताहरूले आफ्नो धारणा निर्माण गर्न सकेका छैनन् । लामो समयसम्म सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसकेकोमा हालै मात्र नियुक्ति गरेको छ । यो नियुक्तबाट अब सेयरबजारमा केही न केही सुधार भने निश्चय नै हुनेछ । किनभने अध्यक्षले सेयरबजार सुधार गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।
आर्थिक सुझाव आयोगको प्रतिवेदनले समष्टिगत आर्थिक अवस्थामा गर्नुपर्ने सुधारको विषयमा सुझाव दिने भएकाले सेयरबजारको विषयमा निश्चय नै सुझाव आउने नै छन् । तिनीहरूको आधारमा सरकारले नीतिगत कार्यक्रम ल्याउने हुँदा सेयरबजारले सकारात्मक मार्ग अवलम्बन गर्ने ठाउँ भने रहेको छ । अर्थतन्त्रले गति लिन नसकेको अवस्थामा सेयरबजार फस्टाउन सक्दैन । किनभने कतिपय कुराहरू अर्थतन्त्रमा निर्भर रहेका हुन्छन् । अहिले बजारमा पैसाको अभाव छ र पैसा नभएपछि माग हुने कुरै भएन । माग नभएपछि उत्पादनमा असर पर्ने नै हुन्छ । पैसा नभएपछि बचत नहुने र बचत नभएपछि लगानी नहुने र लगानी नभएपछि रोजगारी नहुने भई नै हाल्यो । यसरी देशको अर्थतन्त्र निष्कृय बन्दै गएको अहिलेको अवस्था हो ।
वर्तमान अवस्थामा राजनीतिक, आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्र र अन्तर्राष्ट्रिय वातावरणले समेत प्रभाव पारेको अवस्था छ । यस्तो प्रतिकूल परिस्थितिमा सेयरबजार माथि जान सक्दैन । त्यसकारण अहिले सेयरबजार केही खस्किएको हो । तर बुझ्नुपर्ने कुरा के छ भने सेयरबजार यस्तो बजार हो जहाँ कहिले पनि खस्किँदै र उचालिँदै गएको हुँदैन । सेयरबजारमा करेक्सन भई नै रहन्छ । यदि करेक्सन नभई बढी नै रहने अथवा घटी नै रहने हो भने बजार निर्माण नै हुँदैन । त्यसकारण विवेकपूर्ण तरिकाले सेयरबजारमा लगानी गर्दा डराउनु पर्र्दैन । मुख्य कुरो लगानीकर्ताले विवेक पुर्याउनुपर्छ ।
अहिले सेयरबजारमा चौतर्फी दबाब परेको हुनाले नै लगानीकर्ता उत्सुक देखिएका छैनन् । राष्ट्रिय अर्थतन्त्र कमजोर, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यकरूपमा तरलता थुप्रिएको कारणले लगानी हुन नसक्नु, औद्योगिक वातावरणमा निरासा आउनु, कसिलो मौद्रिक नीतिले पनि सेयरबजारलाई धक्का पुर्याएका छन् । सरकारी क्षेत्र पनि अहिले कमजोर हुँदै गएको छ । सार्वजनिक खर्च ज्यादै न्यून देखिन्छ । आर्थिक वर्षको पाँच महिना सकिदा पनि पुँजीगत खर्च १३ प्रतिशतभन्दामाथि जान सकेको छैन । सरकारले निर्माण व्यवसायीहरूलाई कामको भुक्तानी दिन सकेको छैन । बजार चलायमान बनाउनका लागि सरकारले भुक्तानी गर्नुपर्छ । यसरी देशको अर्थतन्त्र कमजोर बन्दै गएको हुनाले सेयरबजार पनि ओरालो लाग्न गएको हो । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । केही सुधारका संकेत आउनासाथ बजारले गति लिएकै हुन्छ ।
अर्कोतर्फ सेयरबजार संरचनाभित्रै पनि विभिन्न समस्या छन् । उच्च तहबाट भएका इन्साइडर ट्रेडिङका घटनाहरूले गर्दा लगानीकर्तामा उत्साह भएको अवस्था पनि छैन । सबै लगानीकर्ताहरूले स्वच्छ कारोबार गरेका छन् भन्न पनि सकिँदैन । यस बारेमा पनि समाचार आइरहेका छन् । त्यसकारण सेयरबजारको संरचनाभित्र र बाहिरका कारणहरूले गर्दा अहिले सेयरबजारले गतिलिन नसकेको हो । सधैँ यहीरूपमा रहन्छ भन्न सकिँदैन । किनकि सेयरबजार एकैचोटी गल्र्याम्म ढल्ने होइन र क्रमिकरूपमा गति बढाएकै हुन्छ । अलिकति मात्र सुधारात्मक संकेतको सम्भावना आउनेबित्तिकै सेयरबजारले आफ्नो बाटो समातिहाल्छ ।
अहिले सबैतिरबाट सेयरबजारलाई सहयोग पुर्याउने कार्य नभएको हुनाले केही खस्किएको अवस्था हो । सधैँ यसरी नै तल झर्दै जाने भन्ने हुँदैन । अर्थतन्त्रका विभिन्न अवयवहरूमा सुधारका संकेत देखिनासाथ सेयरबजार अगाडि बढी हाल्छ । यिनै कारणहरूले गर्दा लगानीकर्ताहरूमा हौसला नआएको हुनाले अलमलमा परेका देखिन्छन् । क्रमिकरूपमा सेयरबजारलाई अघि बढाउँदै जाने काम लगानीकर्ताकै हो । त्यसकारण अलमलमा नपरी विवेकपूर्ण किसिमले लगानी गर्नु नै उपयुक्त देखिन्छ ।