नयाँदिल्ली । भारतमा ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपीभीको) संक्रमणका केसहरु बढ्दै गएको छ । अहिलेसम्म एचएमपीभीका छवटा घटना सार्वजनिक भएका छन् ।
अहमदाबादमा सोमबार दुई महिनाको बच्चामा एचएमपीभी संक्रमण भेटिएको थियो । यी बालक राजस्थानका हुन् र उपचारका लागि अहमदाबाद पुगेका छन् ।
यस्तै सोमबार बिहान कर्नाटकमा तीन महिनाकी बालिका र आठ महिनाका बालकमा यो भाइरस भेटिएको थियो । दुवै बालबालिकाको बेंगलोरको एक अस्पतालमा परीक्षण गरिएको थियो । पश्चिम बंगालमा पनि पाँच महिनाको बच्चामा यो रोगको लक्षण देखिएको छ । उनको निजी अस्पतालमा उपचार भइरहेको छ ।
अर्कोतर्फ तमिलनाडुको चेन्नईमा पनि दुई बालबालिकामा संक्रमण देखिएको छ । उनीहरुको बारेमा अझै धेरै जानकारी बाहिर आएको छैन ।
देशका विभिन्न स्थानमा एचएमपीभी मामिलाहरु फेला परेपछि राजधानी दिल्लीमा आवश्यक स्वास्थ्य तयारी उपायहरु सुरु गरिएको छ । यो भाइरसको लक्षणहरु कोभिडड–१९को जस्तै देखिएको छ । यो भाइरसको सबैभन्दा ठूलो असर साना बालबालिकाहरुमा परेको छ । दुई वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् । जब एचएमपीभी भाइरसबाट संक्रमिमत हुन्छ तव बिरामीमा रुघाखोकी र कोभिड–१९ जस्ता लक्षणहरु देखिन्छ ।