ढाका । बंगलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्रराष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।
उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापकरूपमा मानव अधिकार उल्लंघन भएको आरोप लागेको छ । घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उनको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताए ।
बंगलादेशी सुरक्षाकर्मीले पाँच सयभन्दा बढी व्यक्तिलाई गैरकानुनीरूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो । पूर्वप्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन् । ‘अदालतले शेख हसिना र उनका सैन्य सल्लाहकार, सैनिक कर्मचारी र अन्य कानुन प्रवर्तन अधिकारीहरूसहित ११ जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको छ,’ इस्लामले पत्रकार सम्मेलनमा भने ।
बंगलादेशले गत डिसेम्बरमा भारतलाई हसिनालाई मुद्दाको सामना गर्न फिर्ता पठाउन आग्रह गरेको थियो तर दिल्लीले त्यसको जवाफ दिन अस्वीकार गरेको थियो । इस्लामले अदालतले मुद्दाको सुनुवाइ अघि बढाउन चाहेको बताएका छन् ।
‘हामी जतिसक्दो चाँडो मुद्दाको सुनुवाइ टुङ्ग्याउन चाहन्छौँ, तर यसको अर्थ यो होइन कि हामी कानुन भङ्ग गर्छौँ वा उचित प्रक्रियाविना नै फैसला दिन्छौँ,’ उनले भने ।
हसिनाको सरकार ढलेपछि उनका दर्जनौँ सहयोगीलाई हिरासतमा लिइएको छ । उनीहरूलाई प्रहरी नियन्त्रण र कारबाहीमा संलग्न रहेको आरोप लगाइएको छ । उक्त कारबाहीमा सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी