काठमाडौं । ग्लोकल प्रालिअन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कुलको स्किल विकको छैठौं संस्करण सुरु भएको छ । सोमबारदेखि शुरु भएको फेस्ट पुस २९ गतेसम्म सञ्चालन हुनेछ ।
यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दूरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल विक २०२५ विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ । पुस २६ मा स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोकमा आयोजना हुने भएको छ ।
‘स्किल फेस्ट–सीपको महोत्सव’ कार्यक्रम युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित भइरहेको छ । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्व र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन् । स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत र सिपमा आधारित मनोरञ्जन कार्यक्रम तथा रोजगारी मेला हुनेछ । यस्तै, अन्तिम दिन पुस २९ गते सीईओ अनप्लग्ड फोरम सञ्चालन हुने जनाइएको छ । यो फोरमले उद्यमी, व्यापारी र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ ।
कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवाड्र्स प्रदान गरिनेछ, यसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ । यो कार्यक्रममा इम्पावर्ड बाइ पार्टनरको रूपमा इम्बार्क कलेजले समर्थन गरेको छ । सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार रहेका छन् । होन्डा, कोका–कोला, डब्लुडब्लुएफ नेपाल, सीजी मोटर्स साझेदार रहेको यो कार्यक्रममा युएनडीपी र युके स्किल्स पार्टनरसिप प्राविधिक सहयोगीको रूपमा रहेका छन् भने होटल पार्टनर द सोल्टी काठमाडौं, इन्टरनेट पार्टनर वर्ल्डलिंक, एयरलाइन्स पार्टनर यति एयरलाइन्स र आउटरिच पार्टनर एनएनक्यु रहेका छन् ।