काठमाडौं । नयाँ स्टक एक्स्चेन्ज खोल्ने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले आफ्नै स्वामित्वको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अस्तित्वलाई धराशायी बनाउने गरी बजारको आवश्यकताभन्दा पनि बिचौलियाहरूको सेटिङमा केही अमुक व्यापारीलाई पोस्ने गरी नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया सुरु गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
ऐन–नियममा व्यवस्था नभए पनि सरकारले निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिने प्रक्रिया सुरु गरेपछि मंगलबार कृष्णबहादुर थापाले सरकारको उक्त कदमविरुद्ध रिट दायर गरेका हुन् ।
धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा रहेर नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन मागेको थियो । मंगलबार थापाले दायर गरेको रिटमा उक्त सूचनाबमोजिम भए÷गरेका सम्पूर्ण कामकारबाहीहरू रद्द गरी निर्देशिका पनि खारेज गर्न माग गरिएको छ ।
यसअघि मन्त्रिपरिषद् बैठकले पुस ५ गते नयाँ स्टक एक्स्चेन्जको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यसको लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निणर्य गरेपछि नयाँ लाइसेन्स वितरणको काम अगाडि बढेको बढेको थियो ।
बजारको आवश्यकताभन्दा पनि कुनै पनि अध्ययन अनुसन्धानविना कुनै एउटा व्यक्ति वा समूहको हितमा हुनेगरी सरकारले नयाँ स्टक खोल्ने प्रक्रिया सुरु गरेपछि थापाले सरकारको उक्त कदमलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।