काठमाडौं । नवमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण बर्तौलाको अध्यक्षतामा शनिबार भएको साधारणसभामा संस्थाका कोषाध्यक्ष सुलभ श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कोषाध्यक्षको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा संस्थाको सेयर पुँजी दुई करोड तीन लाख ६९ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोष एक करोड सात लाख ६८ हजार रुपैयाँ र अन्य कोषमा ७८ लाख ४९ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी संस्थाको बचततर्फ पाँच करोड ५७ लाख ४६ हजार रुपैयाँ र कर्जा लगानी ११ करोड २२ लाख तीन हजार रुपैयाँ रहेको छ । संस्थाले व्याज आम्दानी एक करोड ३७ लाख रुपैयाँ गरेको छ भने व्याज खर्च ५६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
संस्थाले तीन लाख ४१ हजार रुपैयाँ नाफा कमाएको छ । संस्थाले सहकारीहरूको छाता संगठन नेफ्स्कुनबाट कर्जा उपयोग गरी कारोबार गर्दै आएकोले बचत र कर्जामा केही अन्तर देखिएको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, कोषाध्यक्ष श्रेष्ठले आव २०८१/८२ मा संस्थाको बचत आठ करोड रुपैयाँ र लगानी १३ करोड ५० लाख रुपैयाँ पुग्ने जनाएका छन् । यस्तै, संस्थाको खुद नाफा दुई गुणा बढाउने र १५ करोड रुपैयाँ बराबरको कारोबार रकम पुग्ने प्रक्षेपण गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष बर्तौलाले सहकारी क्षेत्रमा हाल उत्पन्न समस्याबाट केही हदसम्म यस संस्था पनि प्रभावित रहेको भए पनि हाल संस्थाको अवस्था मजबुद रहेको जानकारी दिए ।
हालको अवस्थालाई मध्यनजर गरी संस्थाले तरलता बचतको अनुपातमा ३० प्रतिशतमाथि कायम गरेको उनले बताए । संस्थाको जगेडा कोष सेयरपुँजीको अनुपातमा ५० प्रतिशतमाथि रहेको हुँदा संस्था मजबुत स्थितिमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले सहकारी क्षेत्रले लामो समयदेखि मध्यम तथा साना व्यवसायलाई टेवा पुग्ने, स्वरोजगारको अवसर प्रदान गर्ने साथै देशको आर्थिक चक्रलाई चलायमान गर्न प्रमुख भूमिका खेल्दै आएको उल्लेख गरे । यति हुँदाहुँदै पनि नीतिगतरूपमा यो क्षेत्र व्यवस्थित हुने गरी राज्यले कुनै पनि पहल नगर्दा सहकारी क्षेत्रमा हालको समस्या सिर्जना भएको बताए । संस्थाका सचिव सचिव भैरवप्रसाद लम्सालले हाल केही सहकारीमा देखिएको समस्याले समग्र सहकारी क्षेत्रलाई नै नकारात्मक असर पारेको बताए । वर्तमान समस्या समाधान गर्न सरकारले चार/पाँच प्रतिशतमा सहकारीहरूलाई सहुलियत ऋण सुविधा उपलब्ध गराउन पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा उनले संस्थाले ऋण असुली प्रक्रियालाई कडाइका साथ लागू गरिएको बताए । संस्थाका व्यवस्थापक डिल्ली प्रसाद भट्टराईले बचत र ऋण कारोबारका लागि यस संस्था सुरक्षित रहेको बताए ।
प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयाको प्रमुख आतिथ्यतामा भएको सो सभामा सेयरधनी सदस्यहरूले संस्थाको आर्थिक प्रतिवेदन, लेखासमितिको प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को संस्थाको हरहिसाब पारित गरेको थियो । यस्तै, सभाले नयाँ कार्यकालको लागि संस्थाको सञ्चालक एवं लेखा समिति सदस्य निर्वाचित गरेको छ ।