काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । यो कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा बिहीबार हुने जनाइएको छ ।
यस कार्यक्रमले दुवै देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य राखिएको छ । चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्तरूपमा आयोजित यो कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्रहरू हर स्टोरी, मिडसमर्स भ्वाइस र जी फर ग्याप प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरूले दर्शकहरूसँग अन्तर्क्रिया समेत गर्नेछन् ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । यसका साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिस्ट पदाधिकारीहरूले समेत सहभागिता जनाउनेछन् । पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने आयोजकले जनाएको छ । प्रदर्शन हुने चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले गर्नेछन् । यस कार्यक्रमले दुवै देशका चलचित्रकर्मीबीच सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । यो ऐतिहासिक अवसरले नेपाल र चीनबीचको चलचित्र र सांस्कृतिक सम्बन्धमा नयाँ पाटो थप्दै दुवै राष्ट्रबीच थप गहिरो सहकार्य र सहभागिताको आधार तयार गर्नेछ ।