काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १९ औँ वार्षिक साधारणसभा यही पुुस १८ गते शंकर होटेल काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारणसभाको सञ्चालन कार्यसमिति सदस्य सञ्जीव पाठकले गरेका थिए भने स्वागत मन्तव्य पूर्वअध्यक्ष पोखरेलले राखेका थिए । त्यसैगरी पूर्वअध्यक्ष दिवाकर थापाले उपस्थित सदस्यहरू तथा अन्य आगन्तुक अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक रहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन सबैले सामूहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाई पूर्णतः सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष टण्डनले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
संघको सम्पन्न १९ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्वमा रितेश मित्तल (नेपाल रेमिट इन्टरनेसनल प्रालि) लाई सर्वसम्मतरूपमा अध्यक्ष पदमा मनोनित गरेको छ भने उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रालि), महासचिवमा दिवाकर पौडेल (आईएमई लिमिटेड), कोषाध्यक्षमा सञ्जीव कुमार पाठक (एटीटी रेमिट प्रालि) सचिवमा रामेश्वर सापकोटा (प्रभु मनिट्रान्स्फर प्रालि) कार्यसमिति सदस्यहरूमा विमल महत (सिद्धार्थ बैंक लि) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि) मधुसुदन न्यौपाने (प्रभु बैंक लि) र सुदन सिं सिलवाल (युनाइटेड रेमिट प्रालि) सर्वसम्मतरूपमा चयन भएका छन् । संघको विधानतः अध्यक्षबाट मनोनित हुने सदस्यहरूमध्ये एक जनालाई आगामी कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णय गरिएको छ ।