नेपालगन्ज । विगत केही दिनदेखि हुस्सु, कुहिरो र अत्यधिक चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
कोहलपुर नगरपालिका मेयर पूर्ण आचार्यले शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको बताए । उनले मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग कोहलपुरको मुख्य चौराह, साझाचोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरीलगायतका क्षेत्रका चोकमा दाउरा वितरण सुरु गरिएको बताए ।
केही दिनदेखि बढेको अत्यधिक चिसोले यहॉको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरुले बढी कष्ट सहनुपरेको छ । उनले इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी वितरण सुरु गरिएको बताए ।
विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउन कोहलपुर नगरपालिकाले आगो ताप्ने व्यवस्था मिलाउन थालेको मेयर आचार्यले बताए । उनले भने– ‘यो वर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरीलाई खटाएर आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।’