विराटनगर । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । महानगरले केन्द्र सञ्चालनका लागि करुणा फाउन्डेसन नेपालसँग दुई पक्षीय सम्झौता समेत गरेको छ ।
केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउन्डेसन र महानगरबीच बुधबार आयोजित एक कार्यक्रममा सम्झौतापत्र आदान प्रदान भएको हो । महानगरका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसहित फाउन्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सम्झौताअनुसार फाउन्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । यसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोपाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदानलगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख भएको छ । अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए । सेवा केन्द्रको भवन निर्माण गर्न महानगरले जग्गा उपलब्ध गराउनेछ भने सो जग्गामा भवन निर्माण गर्न करुणा फाउन्डेसनले सहजीकरण गर्नेछ ।
महानगर प्रमुुख कोइरालाले अटिजम सेवा केन्द्रको अनुगमन गर्नुका साथै कर्मचारीहरूलाई निर्देशन समेत दिए । उनले अटिजम सेवा केन्द्र आफ्नो ड्रिम प्रोजेक्ट भएकाले यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालू आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकममध्येबाटै ३० लाख रुपैयाँको लागतमा गत कात्तिकदेखि महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको मेयर कोइरालाले जानकारी दिए । सेवा केन्द्रकी संयोजक रश्मी निरौलाका अनुसार केन्द्र बिहान १० देखि २ बजेसम्म सञ्चालन भइरहेको छ । हाल केन्द्रमा तीन बालिकासहित २० जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्याङ्कअनुसार विराटनगर क्षेत्रभित्रका करिब ५१ जना अटिजम भएका बालबालिकाले सेवा पाइरहेको भनाइ संयोजक निरौलाको थियो ।
केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययन समेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने छ । हाल फिजियोथेरापी, स्पिच थेरापी, फिजिसियन सेवा, खाजा, गाडीलगायत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । सेवा केन्द्रमा भर्ना गर्न आउने अभिभावकहरूको चाप अत्यधिक भए पनि सीमित भौतिक संरचनाका कारण हाललाई थप भर्ना गर्न नसकिएको पराजुलीले बताए । आफ्नै भवन निर्माणपछि संख्या बढाउँदै लगिने उनको भनाइ थियो ।