काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । यसै क्रममा बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही पुस १९ गते उद्घाटन गरिएको थियो । उक्त पुस्तकालय उद्घाटन समारोहमा सोही नगरपालिका, वडा नम्बर ७ का वडाध्यक्ष सुमिता डल्लाकोटी, एनआईसी एसिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख दिलिप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झन्डै एक हजार ५० विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरू उक्त पुस्तकालयबाट प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।
यसअघि बैंकले लुम्बिनी प्रदेशको रूपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहा जिल्लास्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बालासुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको उद्घाटन भई सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण भइसकेका छन् ।