काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालि र इटीएसआईपीएलले संयुक्तरूपमा माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा सो प्रदर्शनी आयोजना गर्न लागेको हो ।
फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करणको उड अन्तर्राष्ट्रिय प्रदर्शनी, पाँचौं संस्करणको फर्निचर अन्तर्राष्ट्रिय एक्स्पो तथा नेपाल होम टेक्सटायल र होम डेकोर अन्तराष्ट्रिय एक्स्पो हुने जनाइएको छ । उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातीप्राप्त ब्रान्डहरूका एक सयभन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ ।
प्रदर्शनीमा धेरै नयाँ प्रविधि र सामग्रीका प्रदर्शनी हुनेछ । अवलोकनकर्ताहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउनेछन् । प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनारहरू, अन्तरक्रियात्मक कार्यशालाहरू र प्रत्यक्ष प्रस्तुतीकरणहरूको पनि आयोजना हुनेछ । प्रदर्शनीमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ ।
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा इन्टेरियर डिजाइनर एस्सोसियसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् । प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने बताइएको छ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियरस तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने छ । यस प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने छ ।