काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ । फाउन्डेसनले यही पुष २७ देखि २९ गतेसम्म विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउन्डेसन मैतिदेवीमा गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन् । कार्यक्रमका दौरान विभिन्न अनुभवी परामर्शदाताहरूले सहभागी विद्यार्थीलाई मार्गदर्शन गर्नेछन् । सहभागी टिमहरूले आफ्नो प्रोजेक्ट जुरी सामु प्रस्तुत गर्नेछन् । नयाँ प्रोजेक्ट, त्यसको सम्भाव्यता, प्रभाव र एसडीजीसँगको सम्बन्धका आधारमा प्रोजेक्ट मूल्याङ्कन हुनेछ ।
फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले ह्याकाथन विद्यार्थीहरूको नेतृत्व विकासका लागि उत्कृष्ट अवसर भएको बताए । कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत नवप्रवर्तनात्मक समाधान विकास गर्नुका साथै जीवन उपयोगी सिप सिक्ने उल्लेख गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुरस्कार समेत पाउनेछन् ।