काठमाडौं । युएसएडसँगको साझेदारीमा देशैभरि वर्षैभरि उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १६ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।