काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्बरहरूले कोलकातामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पूरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागी हुन योग्य भएका अभिकर्ताहरू र मार्केटिङ कर्मचारीहरूलाई कम्पनीले कोलकातामा तालिम प्रदान गरेको हो ।
कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल विके नायकको नेतृत्वमा सम्पन्न भएको उक्त तालिममा अन्य भिजिटिङ फ्याकल्टी मेम्बरहरू जे सेन, मिहिर गोस्वामी, अनिरवन शाहलगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए । कलेजका प्रिन्सिपल विके नायकले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै तालिमका सहभागीहरूलाई स्वागत गरेका थिए । उनले यति धेरै अभिकर्ताहरूलाई नेपालबाट इन्डियासम्म ल्याएर व्यवस्थित तरिकाले प्रशिक्षणमा सहभागि गराई प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा कम्पनीलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा, प्रशिक्षक मिहिर गोस्वामीले इनोभेटिभ प्रोस्पेटिङ सम्बन्धनमा प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै नविन सोच लिई अगाडि बढेमा बीमा व्यवसायमा सफलता प्राप्त हुने बताए । यसैगरी अर्का प्रशिक्षक अनिरवन शाहले बिजनेस कन्टियुनिटी साइकलका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । उनले अभिकर्ताले ग्राहकहरूको रुचि, व्यवसाय, पारिवारिक अवस्था, आम्दानीलाई ख्याल गरी बीमा बिक्री गर्ने र बिक्रीपश्चात पनि आफ्ना ग्राहकहरूसँग सधैँ सम्बन्ध प्रगाढ राखेमा व्यवसायले निरन्तरता प्राप्त गर्ने सकिने विषयमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा प्रशिक्षणमा सहभागी भएका करिब चार सय जनाभन्दा बढी अभिकर्ताहरू र कम्पनीका माकेटिङ कर्मचारीहरूलाई कलेजका प्रिन्सिपल एवं प्रशिक्षकहरूले तालिम प्रमाणपत्र वितरण गरेका थिए । बीमा जगतमा प्रतिष्ठित संस्था इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाको तालिममा सहभागी भई तालिम प्रमाण पत्र प्राप्त गर्नु एउट ठूलो अवसर भएको र यो अवसर जुराई दिएकोमा कम्पनीप्रति हार्दिक आभारी रहेको सहभागी अभिकर्ताहरूले बताएका थिए ।