राँझा (बाँके) । नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताएका छन ।
उनले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार गठनपछि शेयर बजारसँगै अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि अर्थतन्त्रका समग्र चुनौती सामना गर्ने गरी प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गरे ।
पूर्वमन्त्री साउदले दुई दलबीच सरकार निर्माणताका भएको सहमतिअनुसार सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा संविधान संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा.डिला सङ्ग्रौला, अब्दुल सत्तार, चम्फा खड्का, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेललगायत उपस्थित थिए ।