काठमाडौं । थारू समुदायले काठमाडौंको टुँडिखेलमा दुई दिने माघी महोत्सव आयोजना गर्ने भएका छन् । पुस २९ गते र माघ १ गते माघी महोत्सव मनाउन लागिएको हो ।
थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउन थालिएको जानकारी दिए । थारू समुदायको नयाँ वर्ष पनि भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेको उनले बताए । ‘पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौं भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौं’, उनले भने । उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यसवर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।
उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । २० भन्दा थारू संघ संस्थाहरूको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले बताए । यस्तै माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेष भूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित न्यूरोड, बसन्तपुरमा जम्मा भई झाँकी ¥याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक हुने कार्यक्रम रहेको छ ।
महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरूको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए । महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारहरूको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने जनाईएको छ ।
महोत्सवमा हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ । साथै हस्तकलाका सामग्रीहरू भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागी भएकाहरूले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् । महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।