काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा कम्पनीले शुक्रबार ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभाले सेयरधनीलाई चुक्ता पूँजीको तीन दशमलव १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आव २०८१/८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
सभाले सञ्चालक समितिबाट नियुक्त हुनुभएका दुई जना स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्तापुँजी २१ करोड रहेको छ । हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।