काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूको संख्या प्रत्येक पछिल्ला महिना र वर्ष झन्झन् बढिरहेकै छन् । अवस्था कस्तो भने नयाँ वर्ष प्रारम्भ हुनै लाग्दा ग्रामीण भेगको एउटा तस्वीर भाइरल भयो । जसमा महिलाहरूको समूह मात्रै लास बोकेर जलाउन घाटतर्फ लिएर जाँदै थिए । मलामी जान सक्ने पुरुष एकजना पनि नभएका कारण महिलाले शवयात्रा गर्नुपरेको थियो । अंग्रेजी पात्रोअनुसार गएको यही वर्ष यो बेलासम्मकै वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढी अर्थात् आठ लाख पुगेको भन्ने विवरणहरू सार्वजनिक भए । यो अघिल्लो वर्षको भन्दा एक सवा लाख बढी हो । उता वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढिरहेका बेला यता त्यहीमध्येबाट ठगिनेहरूको संख्या पनि उत्तिकै बढिरहेको पाइएको छ । यो भनेको सरकारले न वैदेशिक रोजगारीमा जानेहरूलाई देशभित्र रोजगारी दिएर अल्मल्याउन सकेको देखियो न तिनीहरू ठगिनबाट जोगाउन सकेको नै । बितेको वर्ष मात्रै यस्ता दृश्यहरू देखिएका छन्, जसले यो क्षेत्रमा सुरक्षा दिन सरकार पूर्ण असफल भएको नै बुझाउँछ । मानव तस्करीको अवस्था त झनै डरलाग्दै छ । जस्तो बित्न लागेको वर्षको अन्तिम महिना एकजना मन्त्री नै मानव तस्करीको आरोपमा कुनै देशबाट डिपोर्ट नै भएका थिए ।
आफ्नो देशमा सामान्य जीवन गुजारा गर्ने रोजगारी पाइन्थ्यो भने वर्षको आठ लाखको संख्या बन्नेगरी वैदेशिक रोजगारीमा जान बिरलै तयार हुन्थे होलान् । त्यसकारण आम नागरिक वा रोजगारीबाट जीवन धान्नुपर्ने तहको एउटा नेपाली बाध्यतावश विदेश जानुपर्दा आफ्नै देशमा कुन हदसम्म ठगिने गरेका छन् भन्ने सरकारले हेर्न बुझ्न आवश्यक भइसकेको देखिन्छ । पीडितले आफूहरू ठगिएको भन्दै सरकार समक्ष उजुरी गर्न आउनेहरूको संख्या दिनहुँ बढिरहेको अवस्था दुःखद् नै हो । यस्ता उजुरीहरू हेर्दा यस्ता ठगीहरूले पनि संस्थागतरूप पाएका भन्ने बुझ्नुपर्ने हुन्छ । सम्बन्धित सरकारी निकाय संवेदनशील थिए वा हुन्थे भने यस्तो अवस्था आउने थिएन होला । वैदेशिक रोजगार विभागमा दिनहँजसो यस्तो ठगीविरुद्ध उजुरी दिनेहरूको ताँती जति लामो देखिन्छ त्यो आफँैमा डरलाग्दो हो । गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या आठ लाखभन्दा बढी रहेको तथ्याङ्कले देखाए जसरी नै ठगीविरुद्ध परेका उजुरीको संख्या पनि गएको मंसिर महिनासम्म मात्रै पाँच हजार (चार हजार ८९ वटा) पुगेको पाइयो । ठगी भएको रकमको अंक पनि सानो छैन । विधिवत दर्ता भएका उजुरीमा उल्लेखित ठगी रकमको अंक जोडिँदा अर्बभन्दा बढी रुपैयाँ बिगो माग गरिएको देखियो । एकवर्षमा नै वैदेशिक रोजगारीमा जान खोज्नेहरूबाट अर्बका अर्ब ठगी हुनु भनेको सामान्य कुरा होइन । यसलाई सरकारले व्यवस्थित गर्न आवश्यक देखिन्छ ।
आफू ठगिएको भनेर विभागमा ठगीविरुद्ध उजुरी परेपछि त्यसको छिनोफानो समयमा नगरिदिँदा पीडितले अर्को पीडा व्यहोर्नुपरेको अवस्था झनै दुःखद् नै हो । आफ्ना नागरिकबाट वर्षमै अर्बका दरले ठगिँदैछ भने यसविरुद्ध राज्य सतर्क र कठोर बन्नैपर्छ । तर त्यस्तो देखिएन । बरु उल्टै समयमा न्याय नदिँदा पीडितहरू झनै पीडितमा पर्ने गरेको समाचारहरू आइरहेका छन् । सरकारका सम्बद्ध निकायका यस्तो ढिलासुस्तीले ठगहरूलाई नै मद्दत पुग्ने गरेको हुनसक्छ । ठगीकर्ताहरू कि भाग्न पाउँछन् कि ठगिनेहरूलाई बल प्रयोग गरेर दबाबमा लिन सक्छन् । परिणाम दुवै अवस्थामा ती नागरिकले न्याय नपाउनु नै हुन्छ । एकातिर श्रम बेच्नका लागि देश छाडेर विदेश जानुपर्ने अवस्थामा गन्तव्यसम्म पुग्न चुनौतीका चाङ नै छन् भने त्यसपछि पनि आफूसुरक्षित भइएको महसुस गर्न पाइँदैन भने यो निकै गम्भीर विषय हो । यो पक्षमा राज्य संवेदनशील बनोस् ।