काठमाडौं । पार्टटाइमरूपमा सेवा दिने र सेवा लिनेहरूका लागि आपसी सहमतिमा काम गर्न पार्टटाइम कामसम्बन्धी ‘पीटीई वर्क एप’ सञ्चालनमा आएको छ । यो एपको काठमाडौंमा एक कार्यक्रमका बीच शुक्रबार शुभारम्भ गरिएको हो ।
पार्टटाइम कामदार र सेवाग्राहीका लागि यो विश्वकै पहिलो एपको रूपमा आएको छ । क्विक वर्क प्रालिले यो एप डेभलप गरेको हो । यो एप डाउलोनड गरेर रजिस्ट्रेसन गरेपछि हाललाई करिब ३२ वटा काम यो एपमार्फत गर्न र गराउन पाइने भएको छ । नेपालभरको लागि शुभारम्भ गरिएको यो एपले नेपालमा विज्ञ तथा अर्धविज्ञ पेसाका व्यक्ति एवम् कामदारले चाहेको समयमा अब काम पाउने छन् । आफूले चाहेका काममा कामदार तथा पेसाविज्ञबाट ग्राहक तत्कालै सेवा लिन पनि सक्नेछन् । यो एपमार्फत हाललाई माली, भाँडा माज्ने कामदार, वेटर, कुक (सेफ), हेल्पर, सरसफाइ कर्मचारी, कस्टमर सर्भिस, ड्राइभर, कार्पेन्टर, पलम्बर, सेल्स ब्वाई एन्ड सेल्स गर्ल, डेलिभरी ब्वाई एन्ड डेलिभरी गर्ल, हाउस किपर, पेन्टरजस्ता सेवा लिन दिन सकिने छ ।
यस्तै, ब्युटिसियन, इलेक्ट्रियसियन, मार्केटिङ पर्सन, फ्रन्ट डेक्स तथा रिसेप्सनिस्ट पर्सन, इन्सुरेन्स एजेन्ट, यातायात ट्रान्सपोर्टर, केयरटेकर, केयरगिभर, भिडियो सम्पादक, भिडियोग्राफर, स्टिल फोटोग्राफर, ग्राफिक डिजाइनर, ट्रेकिङ गाइडजस्ता सेवा पनि यो एपमार्फत लिन र दिन सकिने भएको छ । पीटीई वर्क एपमार्फत हाललाई डक्टर, विज्ञ सल्लाहकार, इन्जिनियर, इन्टेरियर डिजाइनर, एकाउन्टेन्ट, आईटी सफ्टवेर डेभ्लोपरजस्ता विज्ञको सेवा पनि लिन र दिन सकिने भएको छ । यो पेसागत व्यवसाय तथा कार्य सुविधाको लागि स्थापना गरिएको हो ।
यसमा सेवाग्राही र सेवा प्रदायकबीच नै आपसी समझदारीमा पारिश्रमिक तय हुनेछ । सुरुमा यसमा सेवादिने व्यक्ति अर्थात् सेवा प्रदायक व्यक्तिले एप तथा प्लेस्टोरमा गएर पीटीई एप डाउनलोड गर्नुपर्ने हुन्छ । यसरी एप डाउनलोड गरेपछि सो एपमा आफ्नो कार्य विज्ञताको कागतपत्र राखेर रजिस्ट्रेसन गर्नु पर्नेछ । यसरी एप डाउनलोडपछि दर्ता भएको सेवाप्रदायकको एपमा कम्पनीको नियमअनुसार संख्या पुगेर सेवाग्राहीको माग आउन थालेपछि यो सेवा सुरु हुनेछ । यो सेवा नेपालभर पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
यो एपको वेभहाउस नेपाल प्रालिबाट कपिल तण्डुकारको टिमले डेभलप गरेका हुन् । करिब पाँच वर्षको अथक प्रयासपछि यो एप तयार भएको क्विक वर्क प्रालिका अध्यक्ष दशरथ गिरीले बताए । ‘नेपालमा सेवा दिने व्यक्तिहरू बेरोजगार बस्नुपर्ने र सोही सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यो समस्यालाई समाधान गर्न सेवा लिने र सेवा दिनेबीच पुलको रूपमा हामीले यो एप तयार गरेका हौं’, अध्यक्ष गिरीले भने । हाल नेपालमा विज्ञ तथा अर्धविज्ञ पेसागत व्यक्ति एवम् कामदारले चाहेको समयमा काम नपाउने र त्यो सेवा लिने व्यक्तिले भनेको बेला सेवा नपाउने समस्या छ । यसरी सेवा लिने र दिनेलाई तत्कालै जोड्नको लागि नेपालमा यो एप सञ्चालनमा ल्याइएको हो । यस्तो एप अहिलेसम्म कतै पनि नभएको दाबी पनि दशरथको रहेको छ ।
यो एप आएपछि कामको समानता हुने, कोही खाली बस्नुपर्ने र कसैमा अत्याधिक कामको चाप हुने समस्या समाधान भएर जाने पनि एप सञ्चालक दशरथको दाबी छ । हाल यो एपलाई पहिलो चरणमा निःशुल्करूपमा डाउनलोड गर्न सकिनेछ । सुरुमा पीटीई वर्क एपमा ३२ वटा सेवाहरू सूचीकृत गरिएको छ । यो एपले एक वर्षभित्र बजारको मागअनुसार सेवाहरू थप्दै जाने जनाइएको छ । यो एपको लागि हाललाई अभिनेता प्रवण भूसाल र गायिका सरिता भारती ब्रान्ड एम्बेस्डरको रूपमा रहेका छन् ।