काठमाडौं । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताएका छन् ।
उनले अधिवेशन सुचारु नभएको बेलामा अध्यादेश ल्याउनसक्ने बताउदै नेपालको संविधानको धारा ११४ ले अध्यादेशहरूको व्यवस्था गरेको उल्लेख गरे । उनले सदनको पहिलो बैठकमै अध्यादेशहरू पेस हुने र पारित नभए स्वतः निष्क्रिय हुने बताए ।
उनले अध्यादेश ल्याउने कुरालाई संसद्को अधिकार कटौती गरेको भनेर बुझ्न नहुने स्पष्ट पारे ।
उनले अध्यादेश संसद्लाई अवज्ञा गर्नेगरी नभइ आवश्यकताको महसुस गरेर ल्याइएको बताए । कानुन बनाउन पाँच वर्षसम्म लाग्ने स्थिति रहेको बेलामा र संसद् पनि नचलेको समयमा अध्यादेश ल्याएको कुरालाई संसद्को अवज्ञा भन्न नहुने उल्लेख गरे ।
उनले दलहरूमाथि हुने प्रहारले लोकतन्त्रलाई कमजोर बनाउने बताए ।