काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले आइतबार होटल पोखरा ग्रान्ड, पोखरामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न गरेको हो । सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राख्नुभएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जीपी राजबहाक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखापरेका चुनौतीहरूलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँनयाँ प्रविधिहरूलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबुत बनाउन यथासक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलितरूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराए ।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफाभन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिरहेको बताए ।
सभामा बैंकको संस्थापक सेयरधनीको तर्फबाट पूर्व वन तथा वातावरणमन्त्री डा वीरेन्द्र महतो एवं समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए भने अन्य संस्थापक एवं साधारण सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।