न्युयोर्क । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि दुई दशमलव आठ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ । मुद्रास्फीतिमा गिरावट, श्रमबजारको अवस्था सुधार र मौद्रिक सहजताका बाबजुद, विश्व अर्थतन्त्रले महत्वपूर्ण अनिश्चितताको सामना गरिरहँदा विश्वव्यापी वृद्धि पूर्व–महामारीको स्तरभन्दा तल रहने अनुमान गरिएको छ ।
प्रतिवेदनले सन् २०२६ मा विश्व अर्थतन्त्र दुई दशमलव नौ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । प्रतिवेदनमा धेरै अर्थतन्त्रहरूमा न्यून मुद्रास्फीति र जारी मौद्रिक सहजताले विश्वव्यापी आर्थिक गतिविधिलाई सामान्य वृद्धि प्रदान गर्नसक्ने उल्लेख छ । यद्यपि, भू–राजनीतिक द्वन्द्व, बढ्दो व्यापारिक तनाव र धेरै देशहरूमा उच्च उधारो लागतहरूबाट उत्पन्न हुने जोखिमहरूका कारण चुनौती भने उच्च छ । यिनै चुनौतीहरू न्यून आय र कमजोर देशहरूका लागि खतरा बन्न सक्छ ।
श्रमबजार र उपभोक्ता खर्च सुस्त हुँदा संयुक्त राज्यको वृद्धि २०२४ मा २ दशमलव ८ प्रतिशतबाट २०२५ मा एक दशमलव नौ प्रतिशतमा मध्यम हुने अनुमान गरिएको छ ।
कूल गार्हस्थ्य उत्पादन (जीडीपी) २०२४ मा शून्य दशमलव नौ प्रतिशत रहेकोमा सन् २०२५ मा एक दशमलव तीन प्रतिशतमा पुग्ने अनुमान छ । मुद्रास्फीति र लचिलो श्रमबजारलाई समर्थन गर्दै युरोपले सामान्य रूपमा रिकभर हुने अपेक्षा गरिएको छ । यद्यपि, कमजोर उत्पादकत्व वृद्धि र बुढ्यौली जनसंख्याजस्ता कारण वित्तीय कडाइ र दीर्घकालीन चुनौतीहरूले निरन्तरता पाउने अनुमान गरिएको छ । पूर्वी एसियामा सन् २०२५ मा चार दशमलव सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण
गरेको छ ।