काठमाडौँ,राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गरेका छन्। उनलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराएका थिए। राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गरे।
यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष छन् ।
यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो । रासस