दोलखा । बागमती प्रदेश सरकारको लगानीमा दोलखा जिल्लाका विभिन्न सडकहरूको स्तरोन्नति कार्य धमाधम भइरहेको छ । प्रदेश सरकारले विशेषगरी ग्रामीण सडकलाई स्तरोन्नति गरिरहेको छ ।
जिल्लाको उत्तरी क्षेत्रका दुईवटा पालिकाको मुख्य ग्रामीण सडक सुनखानी–साङ्बा सडकको १५ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा सो सडकको कालोपत्रे गरिएको हो । भौगोलिकरूपमा विकट रहेको कालिञ्चोक गाउँपालिका हुँदै बिगु गाउँपालिकासम्म पुग्ने सो सडक कालोपत्रे गरेसँगै आवागमनमा सहजता आएको छ । त्यसैगरी चरीकोट–देउराली करिब पाँच किलोमिटर सडकको पनि कालोपत्रे तथा ढलान गर्ने कार्य सम्पन्न भएको छ । सो सडक कालोपत्रे भएपछि धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न आउने पर्यटकलाई सहज भएको हो । सोही सडक हुँदै देउरालीदेखि कालिञ्चोक पुग्ने बाँकी सडकखण्डको समेत निर्माण धमाधम भइरहेको पूर्वाधार विकास कार्यालय दोलखाले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय दोलखाका अनुसार अन्य ग्रामीण सडक समेत ठेक्कामार्फत धमाधम काम भइरहेका छन् । निर्माणाधीन अवस्थामा रहेका अन्य ठूला सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी काम भइरहेको छ । पर्यटकीय स्थल शैलुङ प्रवेश गर्ने मुडे–बाघखोर–कालापानी नौ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडक पनि धमाधम निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताए । सो सडक कालोपत्रे भएसँगै सिन्धुपाल्चोक–मुडे हुँदै शैलुङ आवतजावत गर्न सहज हुने भएको छ ।
यस्तै, तामाकोशी गाउँपालिकाको भीरकोट हुँदै झुले–छौडे जाने सडक ढलान गर्ने कार्य भइरहेको छ । बहुवर्षीय सडक योजनाको रूपमा रहेको झुले–छौंडे सडकमा पहिलो चरण एक किलोमिटर सडक ढलान गरिने छ । त्यसैगरी लामो समयदेखि अलपत्र अवस्थामा रहेकोे सिद्धाको थान–जुँगु–झ्याँकु सडकको पनि अहिले ठेकेदार कम्पनी स्तरोन्नतिको काम गरिरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दोलखाको दक्षिणी क्षेत्रको मुख्य मार्ग सितली–मेलुङ–माने बुद्धचोक सडक पनि प्रदेशकै लगानीमा निर्माण सम्पन्न भएको छ । लामोसाँघु–जिरी सडकखण्डको मकैबारी खण्डबाट देउरालीसम्म कालोपत्रे भएको छ भने सोही सडकखण्डको सुस्पा क्षमावतीको पानीघाटसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । त्यस्तै, जिरी–ठोसे शिवालय सडक कालोपत्रेकोे काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
चालू आवमा नै दोलखामा कार्यालय स्थापना भएसँगै जिल्लामा ठेक्का लागेर अलपत्र रहेका सडकलाई कार्यालयले पटकपटक ताकिता गरेर निर्माण सुरु गराएको कार्यालय प्रमुख ओझाले बताए । प्रदेश सरकारको लगानीमा सिँगटी–लादुक–बुलुङ सडक निर्माण भइरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले आधा दर्जन सडक बहुवर्षीय आयोजना अघि बढाउने योजना बनाएको छ । त्यसैगरी प्रदेश सरकारकै लगानीमा दुई वटा पुल निर्माण सम्पन्न र बाँकी तीन वटा पुल निर्माणाधीन रहेको कार्यालयका इन्जिनियर टंक तिवारीले जानकारी दिए ।
सडक डिभिजन मार्फत ११ सडकको स्तरोन्नति हुँदै
सडक डिभिजन कार्यालय मार्फत संघिय सरकारका ११ वटा सडकको पनि स्तरोन्नति कार्य भईरहेको छ । चालु आर्थिक वर्षमा संघिय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक बिभाग अन्तर्गत जिल्लाका २ वटा राजमार्ग सहित ११ वटा ग्रामीण सडकको स्तरोन्नति कार्य सुरु भएको हो ।
सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर भरत श्रेष्ठका अनुसार कार्यालयले चरिकोट– सिंगटी सडक र तामाकोशी मिल्ति सडकको भत्केको ठाउँमा मर्मत गर्ने कार्यका लागी टेन्डर मार्फत काम सुरु गरेको छ । त्यसैगरी ग्रामीण सडक तर्फ नाम्दु– घिमिरेटार सडक, खावा लहरेमाने सडकको स्तरोन्नति गर्न ठेक्का आव्हान गरेको छ । त्यसैगरी जुँगु– झ्याकु सडक, मागपौवा–बाखोर सडकको पनि स्तरोन्नति गर्न ठेक्का लगाईएको इन्जिनियर श्रेष्ठले बताए । उनका अनुसार लामाबगर– फलाक सडकको भने ठेक्का आव्हान गरेपनि हालसम्म ठेक्का सम्झौता हुन सकेको छैन । ठेक्का सम्झौता गरिएका ८ वटा सडक योजनाको काम सुरु भएको छ भने, बाँकी सडक सम्झौताको प्रक्रियामा रहेका छन् ।