काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पास गर्दै आइतबार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दैै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमासम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाइलगायत नयाँ नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाललाई निर्देशन दिए ।
इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका संरक्षक समेत रहेका अध्यक्ष दाहालले बीमा क्षेत्रको विकासलाई अझै उचाइमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मेहनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिए । अध्यक्ष दाहालले भने, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ । देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीव्रता दिनुपर्छ ।’ त्यस अवसरमा अध्यक्ष दाहालले इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको सञ्चालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गरे ।