काठमाडौं । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश (करसहित) स्वीकृत गरेको हो ।
त्यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिले कोषको कार्यक्रमहरूको थप प्रवर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने जनाएको छ ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मकरूपमा राम्रो लाभांश दिन कोष सफल भएको बताइएको छ । साधारणसभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ६१ अर्ब रूपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ५० अर्ब रूपैयाँ लगानी गरेको छ ।