काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, सेयरधनीहरू, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारीको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिकरूपमा सभाको शुभारम्भ गरेका थिए ।
सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । ज्योति विकास बैंकको हालको चुक्ता पूँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।