काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले २७ औँ एवं २८ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार फाइनान्स सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा उक्त साभारणसभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूबारे जानकारी दिएका थिए । साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरूको जवाफ दिंदै अध्यक्ष महर्जनले संस्था अपेक्षितरूपले प्रगति गरिरहेको जानकारी गराए । साथै, संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी सेयरधनीहरूमा आशाको सञ्चार गराएको तथा सेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरूको सह्राहना गर्दै आगामी दिनहरूमा यस्ता सुझावहरू कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरे ।
सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीसहितको वित्तीय विवरणहरू छलफलपश्चात स्वीकृत गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनी रजिस्ट्रार कार्यालयबाट स्वीकृति लिई नियुक्त गरिएको बाह्य लेखापरीक्षक रञ्जीव एन्ड एसोसिएट्सको नियुक्ति अनुमोदन गरेको छ । त्यसैगरी २०८१/८२ का निम्ति बाह्य लेखापरीक्षकका रूपमा डीजी एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
वित्तीय संस्थाले हाल २३ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरमार्फत नवीनतम प्रविधिहरू उपयोग गरी आफ्ना सेवाहरू प्रवाह गरिरहेको संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी गराए ।