इस्लामाबाद । पाकिस्तानको पञ्जाब राज्यका पूर्वखानीमन्त्री इब्राहिम हसन मुरादले एटक सहरमा दुई अर्ब डलर मूल्यबराबरको सुनको भण्डार फेला पारेको दाबी गरेका छन् । हसन मुरादका अनुसार अटकको ३२ किलोमिटर क्षेत्रमा ३२ हजार छ सय ५८ किलो (२८ लाख तोला) सुनको भण्डार फेला परेको छ ।
हसन मुरादले जनवरी १० मा सामाजिक सञ्जाल एक्स पोस्ट गरेका छन् ‘पाकिस्तानको भू–गर्भ सर्वेक्षणका वैज्ञानिकहरूले गरेको यो खोजले पञ्जाबमा प्राकृतिक स्रोतहरूको अपार सम्भावनालाई प्रकाश पार्छ । यहाँबाट पाकिस्तानको भू–गर्भ सर्वेक्षण टोलीले एक सय २७ स्थानबाट नमूना लिएको थियो ।’
यो खोज पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने दिशामा महत्वपूर्ण कदम भएकोे उनले बताए । यस सुन भण्डारले देशलाई आर्थिकरूपमा बलियो बनाउँदै भावी पुस्ताका लागि नयाँ अवसरहरू खोल्ने विश्वास गरिएको छ ।
यदि कुनै देशको मुद्रा अन्तर्राष्ट्रियरूपमा कमजोर हुन्छ भने, सुनको भण्डारले त्यस देशको क्रयशक्ति र आर्थिक स्थिरता कायम राख्न मद्दत गर्दछ । सुनको भण्डारले कुनै पनि देशको मुद्रा मूल्यलाई समर्थन गर्न ठोस सम्पत्ति प्रदान गर्दछ । त्यसैले देशको अर्थतनत्र मजबुत बनाउन सुन भण्डार धेरै हुँदा सहयोग पुग्छ ।