काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा साढे दुई अर्बभन्दा बढी पैसा पठाउने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब ५५ करोड रुपैयाँ निक्षेप लगानी गर्न लागेको हो । निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज (बुधबार)सम्म राख्न चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्न सक्नेछन् । राष्ट्र बैंकले यो पैसा तीन सय ६६ दिन अर्थात् २०८१ माघ ६ गतेदेखि २०८२ माघ ६ गतेसम्म निक्षेप राख्न लागेको हो ।
लगानीको लागि छुट्याइएको रकममध्ये वाणिज्य बैंकहरूमा दुई अर्ब चार करोड, विकास बैंकहरूमा ३८ करोड २५ लाख र फाइनान्स कम्पनीहरूमा १२ करोड ७५ लाख रुपैयाँ राखिने राष्ट्र बैंकले जनाएको छ । सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएका बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप लिनका लागि आवेदन दिन सक्नेछन् । यसबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरू तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरू तोकिएका छन् ।