काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहुप्राविधिक शिक्षालय भवन’को मंगलबार उद्घाटन गर्दै उनले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यावहारिक सीपले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनले सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षिकस्तरलाई माथि उठाउन सामूहिक प्रयत्नको खाँचो औँल्याए । दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिकाले बलम्बु माध्यमिक विद्यालयमा अत्याधुनिक प्रयोगशालासहित बहुप्राविधिक शिक्षालय तयार गरेको छ । यसका लागि दुईतले भवन र चार प्रयोगशाला बनाउन दुई करोड ५० लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी)अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने छ । विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुचिको ती विधामध्ये एक विधामा अध्ययन गर्न सक्ने छन् । उनीहरूले कक्षा १२ उत्तीर्ण हुँदा ती चार विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञानसँग प्राविधिक सीपलाई जोड्न बहुप्राविधिक शिक्षालयले सहयोग पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक सुमन रावतले कक्षा नौदेखि प्राविधिक शिक्षा पढ्न थालेको विद्यार्थीले कक्षा १२ कक्षा पास गर्दा शैक्षिक प्रमाणपत्र र प्राविधिक शिक्षा दुवैको ज्ञान प्राप्त गर्ने उल्लेख गरे ।