काठमाडौं । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इ–सेवा लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीको सोमबार भएको उक्त साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०८०।८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र नगद लाभांश वितरण गर्ने सम्बन्धमा समेत छलफल भएको थियो ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको इ–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानीसँगै ईजी लोन, इ–स्पिकर, मर्चेन्ट लिङ्कजस्ता सुविधाहरूको पनि थालनी गरेको छ । इ–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् भने हालको समयमा एक करोड ३० लाखभन्दा बढी इ–सेवा प्रयोगकर्ता र करिब दुई लाख ८० हजार एजेन्टहरू रहेका छन् ।
उक्त कार्यक्रममा इ–सेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले उपस्थिति जनाएका थिए ।
उक्त कार्यक्रममा बोल्दै इ–सेवाका कार्यकारी प्रमुख जगदीश खड्काले नेपालमा नै पहिलो पटक प्रयोगकर्ताद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट इभिएका साथै एजेन्ट लोन दिने सेवाबाट सुरु भएको नयाँ आयामको बारेमा बताए । आगामी दिनहरूमा बचत र लगानीजस्ता नवीनतम सेवाहरू पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यवस्थापनका लागि कार्यरत रहने कुरा पनि प्रमुख कार्यकारी अधिकृत खड्काले सोही कार्यक्रममा प्रष्ट पारेका छन् ।