काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा आज पौष २९ गते सोमबार पोखरामा सम्पन्न भएको छ । साधारणसभा पोखरा लेकसाइडस्थित बेस्ट रिर्सोट नेपाल प्रालिको सभाहलमा भएको थियो । सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एवम् प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाले गरेका थियो भने उपस्थित सम्पूर्णहरूलाई सञ्चालक रूपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रममा सेयरधनीहरूबाट उठेका जिज्ञासा एवम् सुझावहरूको जवाफ दिँदै संस्थाका अध्यक्ष अकेलाले यस विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांकहरू अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यहरूको सर्वोपरी हित हुने गरी कार्य गरिने बताए ।
राष्ट्रियस्तर कार्यक्षेत्र भएको संस्थाले देशका ५४ जिल्लामा एक सय २१ वटा शाखा कार्यालयमार्फत एक लाख ५२ हजारभन्दा बढी सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै करिब नौ अर्ब ६५ करोड कर्जा लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।