काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यताप्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो ।
यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्टरूपमा देखाउँछ । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले उक्त प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारीरूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो ।
बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्याङ्कनपछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डेटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, ’हामी ग्राहकहरूको डेटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ। यो प्रक्रियालाई निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गरेको छ । ’
आइएसओ २७००१ः२०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ । इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्छ । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई दुई सय ६८ वटा शाखा र तीन सय २० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।