काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल विक २०२५ सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा सोमबार राजधानीमा ग्लोकल स्किल विकको समापन कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिएका थिए । युवाहरू विदेश पलायन भइरहेको उल्लेख गर्दै उनले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । एक हप्तासम्म सञ्चालन गरिएको उक्त ग्लोकल स्किल विकमा सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरू एवं विभिन्न मनोरञ्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवं विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपूलक रोजगारीका अवसर, सीपप्रतिको बढ्दोे महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल विक कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी चार फरक क्षेत्रका सीपहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै चार विधाका चार प्रेरक व्यक्तित्वहरूलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित समेत गरिएको थियो । कलाको पहिलो स्तम्भअन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । भने उद्यमशीलता विधामा स्किल हिरोको रूपमा खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरिएको थियो । यस्तै, पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापा र विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भएका थिए ।
समापन समारोहमा ‘दिगो भविष्यः सीप, शिक्षा र हरित अर्थतन्त्र’ शीर्षकमा सीईओ अनप्लग्ड २०२५ नामक प्यानल डिस्कसन पनि सञ्चालन गरिएको थियो । टुडे मिट्स टुमरो थिममा सञ्चालित उक्त सीईओ अनप्लग्डको प्यानल डिस्कसनमा नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जो, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सीप तथा तालिम महाशाखा प्रमुख एवम् उपसचिव डम्बर सुनवार थिए । मध्यस्थकर्ताको रूपमा युनिभर्सिटी अफ रोह्याम्प्टनका प्रोफेसर एवं भाइस चान्सलर तथा एम्बार्क कलेजका प्रिन्सिपल प्रोफेसर स्टिफन ड्राइभर रहेका थियो । यो प्यानल डिस्कसन दिगो भविष्य निर्माणमा सीप विकास र शिक्षाको महत्वमा केन्द्रित थियो ।