सुरज बिष्ट
धनगढी, साउन ४
कैलालीका विकासे कार्यालयहरूले सन्तोषजनक प्रगति गर्नसकेका छैनन् । गत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको ८ अर्ब ९५ करोड ४६ लाख विकास बजेटमध्ये चार अर्ब ९७ करोड ७५ लाख बजेट मात्रै खर्च गर्न सकेका छन् । तीन अर्ब ९७ करोड विकास बजेट खर्च गर्नसकेका छैनन् । विकासे अड्डाहरूको प्रगति ५५ दशमलव ५९ प्रतिशत मात्रै छ ।
तीन अर्ब ९७ करोड ७१ लाख बढी बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख लक्ष्मीराज जोशीले बताए । ‘संघीय सरकारअन्तर्गत कैलालीमा १० वटा अड्डाहरू छन् यी अड्डाहरूको बजेट खर्च पुँजीगततर्फ करिब ५५ प्रतिशत खर्च भएको देखिन्छ, सबै सय प्रतिशत खर्च त हुँदैन तर ७० देखि ८० प्रतिशतसम्म खर्च भइरहेको अवस्था थियो । तर यस गत वर्ष ५५ प्रतिशत मात्रै खर्च भयो’, उनले थपे, ‘गत आर्थिक वर्षमा लकडाउनका कारण पनि खर्च कम भयो भने केही विकासे अड्डाहरू मुद्दामामिलामा अड्किँदा पनि उल्लेख प्रगति गर्नसकेका छैनन् ।’
कैलालीमा सञ्चालित विकास निर्माणका योजनाहरूमध्ये सबैभन्दा कम खर्च क्षेत्रीय आयोजना कार्यान्वयन इकाइको भएको छ । दुई अर्ब २९ करोड पुँजीगत बजेट रहेको आयोजनाको आर्थिक वर्षभरि ९ प्रतिशत मात्रै खर्च भएको छ । क्षेत्रीय आयोजना कार्यान्वयन इकाइले १९ करोड ७३ लाख मात्रै खर्च गरेको हो ।
यसैगरी संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको ९६ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगत एक अर्ब ७२ करोड वार्षिक बजेट रहेको संघीय आयोजना कार्यान्वयन इकाइले एक अर्ब ३५ करोड खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । संघीय आयोजना कार्यान्वयन इकाइपछि हुलाकी सडक योजना कैलालीले ९५ बजेट खर्च गरेको छ । हुलाकी सडक योजना कार्यालयले ३५ करोड विनियोजित बजेटमध्ये ३३ करोड खर्च गरेको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमको ९५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ३४ करोड पुँजीगत बजेट रहेको राष्ट्रपति तराई मधेश संरक्षण कार्यक्रमले ३२ करोड खर्च गर्दै ९५ प्रतिशत प्रगति हासिल गरेको छ । यस्तै रानी जमरा कुलरिया सिँचाइ आयोजनाको ५७ प्रतिशत प्रगति गर्दै एक अर्व ५६ करोड खर्च गरेको छ ।