काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको अवस्था भयावह बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चालनमा रहेका ५४ बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा दुई खर्ब ४९ अर्ब २० करोड ९८ लाख १२ हजार रुपैयाँ छ । जुन कुल कर्जा प्रवाहको चार दशमलव ६८ प्रतिशत हो । मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
हाल कायम निष्क्रिय कर्जा एक वर्षअघिको तुलनामा ६६ अर्ब ४८ करोड ८६ लाख ११ हजार रुपैयाँ बढी हो । गतवर्ष मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा एक खर्ब ८२ अर्ब ७४ करोड १२ लाख एक हजार चार सय रुपैयाँ थियो । जुन कुल कर्जा प्रवाहको तीन दशमलव ६६ प्रतिशत हुन्छ । गत वर्ष मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
अर्थतन्त्रमा शिथिलता कायम रहेकाले ऋणीको कर्जा भुक्तानी गर्ने क्षमतामा ह्रास हुँदै गएको छ । गत वर्ष नै उच्च रहेको निष्क्रिय कर्जा पछिल्लो एक वर्षमा आधा खर्बभन्दा बढीले बढेको छ । जसले वित्तीय क्षेत्र निष्क्रिय कर्जाको दलदलमा फस्दै गएको सङ्केत गर्छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ६ प्रतिशतका दरले हुनआउने दुई खर्ब १६ अर्ब ७७ करोड ५५ लाख ५२ हजार रुपैयाँबराबरको निष्क्रिय कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब ४० करोड १३ लाख ८० हजार तीन सय रुपैयाँ बढी हो । गत वर्ष मंसिरसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत अर्थात् एक खर्ब ५९ अर्ब ३७ करोड ४१ लाख ७१ हजार सात सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।
विकास बैंकहरूले गत मंसिरसम्म पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ४७ प्रतिशतका अर्थात् २२ अर्ब ८२ करोड एक लाख ९९ हजार तीन सय रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात अर्ब ३६ करोड ९९ लाख १२ हजार आठ सय रुपैयाँ बढी हो । गत वर्ष मंसिरसम्म विकास बैंकहरूले चार खर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव १९ प्रतिशत अर्थात् १५ अर्ब ४५ करोड दुई लाख ८६ हजार पाँच सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले गत मंसिर मसान्तसम्म एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा नौ दशमलव ७२ प्रतिशत अर्थात् नौ अर्ब ९९ करोड नौ लाख ९८ हजार रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन एक वर्षअघिको तुलनामा दुई अर्ब छ करोड एक लाख ८९ हजार एक सय रुपैयाँ बढी हो ।
गत वर्ष मंसिरसम्म फाइनान्स कम्पनीहरूले ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा आठ दशमलव ३७ प्रतिशत अर्थात् सात अर्ब ८५ करोड आठ लाख आठ हजार नौ सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।