काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरूलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट ईजाजतप्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’ अन्तरगत यो विशेष योजना ल्याएको हो ।
क्यापिटलका चिफ बिजनेस अफिसर ओमकारमणि आचार्यका अनुसार न्यूनतम पाँच लाख रुपैयाँ वा सो बराबरको सेयर भएपछि सो योजनामा सहभागी हुन सकिन्छ । यसमा वार्षिक सेवा शुल्क पूर्णरूपमा मिनाहा गरिएको छ भने लगानीमा भएको मुनाफामा लगानीकर्तालाई ९० प्रतिशत र एलिट क्यापिटललाई १० प्रतिशत भागबण्डा हुने गरी बाँडफाट गरिनेछ । साथै, मुनाफा भएको रकम त्रैमासिकरूपमा चाहेको बेला झिक्न सकिने र यसमा पाँच लाखभन्दामाथि जतिसुकै लगानी गर्न सकिने समेत जनाइएको छ ।
यो योजनामा सहभागी हुने स्वास्थ्यकर्मीका परिवारलाई निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सेवाको सुविधा समेत प्रदान गरिने जनाइएको छ । साथै, यस लगानी योजनामा सहभागी हुने लगानीकर्तालाई निःशुल्क बीमा सुविधा समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसका साथै सेयर बजारसम्बन्धी निःशुल्क तालिम र अन्य परामर्श सेवाहरू समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आबद्ध व्यक्तिहरूका लागि यो योजना लागु हुने क्यापिटलले जनाएको छ ।