सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले चार सय ३१ किलो रक्तचन्दनसहित पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौँ १४ का रमेश थापालाई पक्राउ गरेको हो ।
रक्तचन्दन तिमल्सिना र थापाले कहाँबाट ल्याएका हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । तिमल्सिना अवैध मानिएको रक्त चन्दनसहित पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्तचन्दन निर्यात हुने गरेको तथ्य खुलासा भएको छ । यसअघि पनि भारतबाट तिमल्सिना र उनको समूहले ठुलो परिणाममा रक्तचन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो ।
यसअघि २०६० को दशकतिर तस्करहरूले भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक हुँदै चीनको खासामा रक्तचन्दन पुर्यार्उने गरेको प्रहरीको तथ्याङ्क छ । तिमल्सिना र थापाले गैर कानुनी रूपमा अवैध वन पैदावार रक्तचन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी गराए ।
तिमल्सिनालाई प्रहरीले खोजतलास गर्दा पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्तचन्दनसहित माघ १ गते पक्राउ गरेको थियो । प्रहरीले अहिले उनीहरूलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।