काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले कालोबजारी ऐन लगायत अन्य ऐनहरूमा सरकारले अध्यादेशहरूमार्फत गरेको संशोधनलाई स्वागत गरेको छ । संघका महासचिव जयन्त कुमार अग्रवालले एक विज्ञप्ति जारी गरी सरकारको पछिल्लो कदमबाट मुलुकमा लगानी अभिवृद्धि र अझ बढी व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।
‘समयसापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन् गर्दै ऐन कानुनहरूमा समयसापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ संघको विज्ञप्तिमा उल्लेख छ । संघले असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । उद्योग, व्यवसायसँग सम्बन्धित ऐन कानुनमा गरिएको संशोधनबाट बजार मागमा आएको संकुचन न्यूनीकरण हुने, व्यवसायीको खस्किँदो मनोबल उकास्न बल पुग्ने र लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने संघको विश्वास छ । ‘पछिल्लो पटकको ऐन संशोधनअनुसार नियमावली र कार्यविधिहरू संशोधन गर्न र बन्न बाँकी नियमावली र कार्यविधि पनि यथाशीघ्र तयार गरी व्यवसायमैत्री ऐन, कानुन कार्यान्वयन हुने वातावरण तयार गर्न हामी आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । संसद्मा छलफलमा रहेको भन्सार विधेयक २०८० पनि उद्यमी व्यवसायीका चासोका विषयलाई सम्बोधन हुने गरी यथाशीघ्र पारित गरी कार्यान्वयन गर्न संघले आग्रह गरेको छ ।