काठमाडौं । टेक्नोले आफ्नो नयाँ उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड दुई फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । फोल्डेबल प्रविधिमा नयाँ तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ । यसको मुख्य विशेषता दुईवटा स्क्रिन हुन्, जसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउँछ । खोलिएको अवस्थामा सात दशमलव ८७ इन्चको २ के प्लस एमोलेड स्क्रिनले इमर्सिभ भिजुअल अनुभव दिन्छ भने फोल्ड भएपछि छ दशमलव ४२ इन्चको पातलो स्क्रिनले खल्तीमा सहजै फिट हुने सुविधा दिने कम्पनीको दाबी छ ।
मिडियाटेक डिमेनसिटी नौ हजार प्लस फाइभजी चिपसेटद्वारा सञ्चालित यो फोनले तीव्र गतिको प्रदर्शन सुनिश्चित गर्छ । यसमा रहेको ५० एमपी मुख्य क्यामेरा, अल्ट्रा–वाइड र टेलिफोटो लेन्सको संयोजनले प्रत्येक क्षणलाई आश्चर्यजनक विवरणसहित कैद गर्न सक्षम बनाउँछ । साथै, चार लाख पटक फोल्ड गर्न सकिने टिकाउपनले फोनलाई लामो समयसम्म प्रयोग गर्न उपयुक्त बनाएको छ । ५७५० एमएएच क्षमताको ब्याट्री र ७० वाट फास्ट चार्जिङले यो फोनलाई व्यस्त जीवनशैलीका लागि उपयुक्त बनाएको छ । १५ वाट वायरलेस चार्जिङ सपोर्टले अझ बढी सुविधा थपेको कम्पनीले जनाएको छ ।
टेक्नोले यो फोल्डेबल फोनलाई नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बजारमा उतारेको हो । किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ । नेपाली प्रविधि बजारमा फोल्डेबल फोनको सम्भावनालाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास छ ।