काठमाडौं । चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो छ महिनामा आयात र निर्यात दुवै वृद्धि भएको छ भने राजस्व सङ्कलन र सरकारी खर्चमा पनि सामान्य वृद्धि देखिएको छ । यसले अर्थतन्त्र क्रमशः चलायमान हुनलागेको सङ्केत गरेको छ । यद्यपि यो वृद्धिले मात्र समग्र अर्थतन्त्र सुधारतर्फ गएको भन्न सकिने अवस्था छै्न । किनकि ऋण लिएर व्यवसाय गर्नेहरूको संख्या न्यून छ । बैंकहरूले ऋण लगानी गर्न नसकेपछि राष्ट्र बैंकले पैसा तान्नुपर्ने अवस्था सिर्जना भएको छ ।
ऋण लिएर व्यवसाय गर्नेहरूको संख्यामा खासै वृद्धि हुन नसके पनि गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयत ७ दशमलव एक प्रतिशतले र निर्यात ३१ दशमलव ८ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आयात र निर्यात दुवै वृद्धिले अर्थतन्त्र क्रमशः चलायमान हुनलागेको सङ्केत गरेको छ । उनले सरकारले गरेका कतिपय कानुनी व्यवस्थाले पनि अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक सङ्केत देखिएको दाबी गरे । अर्थमन्त्री पौडेलका अनुसार अहिले अध्यादेशमार्फत गरिएको कानुनी संशोधनले अर्थतन्त्र थप गतिशील हुनेछ । गत आवको पहिलो छ महिनामा आयात वृद्धि माइनस ३ दशमलव १ प्रतिशत थियो भने निर्यात माइनस ७ दशमलव २ प्रतिशत थियो ।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो आवको पहिलो छ महिनामा सात खर्ब ६८ अर्ब १७ करोड रुपैयाँको आयात भएकोमा चालू आवको छ महिनामा आठ खर्ब २२ अर्ब २७ करोड रुपैयाँको भएको छ । गत आवको पहिला छ महिनामा ७४ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएकामा चालू आवको सोही अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँको निकासी भएको छ । उक्त निकासी अघिल्लो आवको सोही अवधिको तुलनामा चालू आवमा ३१ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो ।
अर्थ मन्त्रालयका अनुसार औसत मूल्यवृद्धि पनि केही घटेको छ । अर्थले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मूल्यवद्धि अघिल्लो आवको पहिलो छ महिनामा ६ दशमलव ३१ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा ४ दशमलव ८८ प्रतिशत मात्र रहेको छ । चालू आवको पहिलो छ महिनामा शोधानान्तर स्थिति पनि राम्रै बचतमा छ । अर्थका अनुसार शोधानान्तरस्थिति चालू आवको पहिलो छ महिनामा दुई खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ थिये भने गत आवको यही अवधिमा दुई खर्ब १० अर्ब ५९ लाख रुपैयाँ छ । वस्तु आयात वृद्धि भए पनि निर्यात पनि वृद्धि हुँदा अमेरिकी डलरमा विदेशी मुद्राको सञ्चिति पनि बढेको छ । गत आवमा १३ अर्ब ३१ करोड अमेरिकी डलर सञ्चित भएकामा चालू आवमा १६ अर्ब ७६ लाख अमेरिकी डलर सञ्चित छ ।
यस्तै, सरकारको राजस्व पहिलो छ महिनामा १२ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने सरकारीको खर्च पनि वृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिमा सरकारी खर्च माइनस १ दशमलव ७ प्रतिशतमा थियो । तर, चालू आवको पहिलो छ महिनामा सरकारी खर्च १७ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।