वासिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहणपछि चीनको भ्रमण गर्ने भएका छन् । ट्रम्प चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउन बेइजिङ भ्रमण गर्न चाहेका छन् । उनले आफ्नो कार्यकालको सय दिनभित्र यो भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् ।
चुनावी अभियानका क्रममा ट्रम्पले चीनमा कर बढाउने कुरा गरेका थिए । त्यसयता दुई देशबीच तनाव बढेको छ । ट्रम्पले जिनपिङलाई सपथ ग्रहणमा निम्तो पनि दिएका छन् । जिनपिङले उपराष्ट्रपति हान झेङलाई शपथग्रहणमा पठाउने निर्णय गरेका छन् ।
रिपोर्टमा भनिएको छ कि ट्रम्पले भारत भ्रमणको बारेमा आफ्ना सल्लाहकारहरूसँग पनि कुरा गरेका छन् । गत महिना भारतीय विदेशमन्त्री एस जयशंकरको अमेरिका भ्रमणका क्रममा ट्रम्पको भारत भ्रमणका बारेमा प्रारम्भिक वार्ता पनि भएको थियो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज जनवरी २० मा शपथग्रहण गर्दैछन् । शपथग्रहणका लागि डोनाल्ड ट्रम्प राजधानी वासिङ्टन पुगेका छन् । डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपति हुनेछन् ।